प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको उम्मेदवारी घोषणा
काठमाडौं, असार २२ : नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छिन् । गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको...
काठमाडौं, असार २२ : नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छिन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताकालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् ।
उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’
विन्दु विगत दुई दशक भन्दा बढी समय रेडियो र टेलिभिजन पत्रकारितामा क्रियाशिल छिन् । नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्नेमा पनि उनले जोड दिईन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था युनियनको आगामी साउन ६ र ७ गते हेटौडामा हुने नवौं राष्ट्रिय महाधिवेशन लागि विन्दुसहित सञ्चारकर्मीहरु शिव लम्साल, रामप्रसाद दाहाल, सरोज अधिकारी, दिपक आचार्य लगायतले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।












