Kathmandu Press

सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

बेइजिङ, असार २१ : राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ। शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ।

राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको सङ्ख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कले देखाएको हो। चीनबाट शरण खोज्नेहरूको सङ्ख्या डरलाग्दो दरमा बढ्दै गएको उसले दाबी गरेको छ।

कोभिड–१९ विरूद्धको चीनको शून्य नीति र अन्य प्रतिबन्धका  बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उक्त संस्थाले २०१२ यता करिब सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका जनाएको छ। शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा बढी चीन बाहिर शरणार्थीका रूपमा जीवन यापन गरिरहेका छन्।

विदेशमा शरण खोज्ने चिनियाँहरूका लागि अमेरिका सबैभन्दा लोकप्रिय गन्तव्य बनेको, सन् २०२१ मा मुख्य भूमि चीनबाट उसले ८८ हजार ७२२ आवेदन स्वीकार गरेको, सोही वर्ष अष्ट्रेलियाले १५ हजार ७७४ शरणार्थीलाई लिएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ।

हजारौँले क्यानडा, ब्राजिल, दक्षिण कोरिया र बेलायतमा पनि शरणका लागि आवेदन दिएका छन्। सेफगार्ड डिफेन्डर्सका लागि काम गर्ने अन्वेषक जिङजी चेनले शरणार्थीका निम्ति आवेदन गर्नेहरूको विवरण विश्लेषण गर्दा कोभिड महामारी नियन्त्रण र रोकथामका आडमा सार्वसाधारणको आवागमनमा कठोर बन्दाबन्दी र कठोर प्रतिबन्ध लागू गरेको, मुख्यभूमि महामारी फैलिएपछि बन्दाबन्दीको अवस्थमा रहेको र त्यस अवधिमा विदेशमा शरण खोज्नेहरूको सङ्ख्यामा अनपेक्षित रूपमा वृद्धि भएको भेटिएको बताए।

प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, असार २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्