Kathmandu Press

पशुपति क्षेत्रमा साउन महिनाको तयारी

काठमाडौं, असार २१ : विगत दुई वर्षका साउन महिनामा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न...
पशुपति क्षेत्रमा साउन महिनाको तयारी

काठमाडौं, असार २१ : विगत दुई वर्षका साउन महिनामा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। 

मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर पशुपतिनाथको गजुर दर्शन गरेर फर्केका थिए । यो वर्ष अहिलेसम्म मन्दिर निरन्तर खुल्नुका साथै नित्य, विशेष पूजा चलिरहेको छ। कोरोनाको सङ्क्रमण दर पनि कमै रहेकाले पशुपतिनाथ मन्दिर खोल्ने गरी नै तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यसैले यो महिनामा धेरै भक्तजनले पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्ने चाहना गर्ने गरेका छन् । त्यसै अनुसार सुरक्षा, स्वयंसेवक परिचालनलगायत तयारी सुरु गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। साउन महिनामा पनि सोमबार पशुपतिनाथमा भक्तजनको धेरै भीड लाग्छ। 

साउन महिनामा पशुपतिनाथमा वाग्मती मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि भीड लाग्ने गर्छ । कोरोनाका कारण विगत दुई वर्ष बोल बम यात्रा पनि रोकिएको थियो । यसवर्ष भने बोल बम यात्रा पनि जारी गरिने कोषले जनाएको छ। साउन महिना, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि जस्ता पर्वमा लाग्ने भक्तजनको भीडका बेला पशुपति क्षेत्रलाई स्वच्छ राख्ने सीप सिकाउन कोषका सफाइ कर्मचारीलाई केही दिनअघि १० दिने तालिमसमेत दिइएको थियो। 

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, असार २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्