Kathmandu Press

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

काठमाडौं, असार २१  : नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।
 
भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताए। डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उनले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे। उनले भने, ‘विद्युत् समस्याका कारण उद्योग सङ्कटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ।’
 
उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उनको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उनले जानकारी दिए। आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उनले बताए। 
 
प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गरे । प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउँछन्।
 
उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहेका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गरे। यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उनी बताउँछन् । उद्योगका अतिरिक्त सर्वसाधारण विद्युत्का कारण हैरान भएका छन्। सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन्। 

Hardik ivf

तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका बासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर–१० का देवीप्रसाद शर्माले विद्युत् प्राधिकरणका अधिकारी र इन्भर्टरलगायतका व्यवसायीको साँठगाँठका कारण विद्युत्मा समस्या सिर्जना गरिएको आरोप लगाए। 

विद्यार्थी अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् । चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गर्छन् । उनको भनाइमा धेरै ठाउँमा विद्युत्को सुधारका काम भइरहेको छ। 

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्