पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ, असार २१ : वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ।बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सीमा नजिकै...
बागलुङ, असार २१ : वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सीमा नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन्।
पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ। आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन्।
त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिरोका कारण अवरुद्ध भएको रानाले बताए। बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।












