बाँकेमा सिकलसेल र थालसेमिया उच्च प्राथमिकतामा
नेपालगञ्ज, असार २० : बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठूलो परिमाणमा बजेट विनियोजन गरेका छन्। जिल्लाका तीन...
नेपालगञ्ज, असार २० : बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठूलो परिमाणमा बजेट विनियोजन गरेका छन्। जिल्लाका तीन स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु एक करोड २० लाख विनियोजन गरेका छन्। उक्त रकममध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले रु एक करोड र सबैभन्दा कम वैजनाथ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको हो। राप्ती सोनारी गाउँपालिकाले भने रु १५ लाख छुट्याएको छ।
थारु समुदायमा फैलिँदो सिकलसेल र थालसेमियाले विकरालरूप लिएको र उनीहरुको स्वास्थ्य अवस्थादेखि आर्थिक अवस्थासमेत कमजोर भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको स्थानीय सरकारले बताएका हुन् । स्थानीय सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सिकलसेल र थालसेमियालाई उच्च प्राथमिकता दिइएकाले उनीहरुको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारको चासो देखिएको हो।
खासगरी जिल्लाको कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा सो रोगलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । उक्त रोगका कारण थारु समुदाय वर्षौंदेखि निजी अस्पतालमा भौतारिँदा पनि बिरामी निको नहुनाका साथै ठूलो रकम खर्च गर्न बाध्य हुँदै आएका छन्। सरकारले सिकलसेल र एनिमियाका बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने नीति ल्याए पनि लक्षित समुदायसँग पुग्न नसक्दा उपचार पद्धतिबारे बिरामी अनविज्ञ देखिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत धीरजङ्ग शाहले अहिले गाउँगाउमा पुगेर जानकारी गराउन थालिएपछि सरकारले उपचार गर्दोरहेछ भन्ने कुरा थाहा पाउन थालेका र गाउँगाउमा शिविर पनि सञ्चालन भइरहेको बताउनुभयो । तीन स्थानीय तहमा रहेका ९० प्रतिशत थारु सुमदायलाई लक्ष गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उहाँले कोहलपुरमा दुई वर्षदेखि सिकलसेल र थालसेमियाको स्क्रीनिङ गरिएको उल्लेख गरे।
अधिकृत शाहले जिल्लाका सबै पालिकामा त्यसको खोजी नभएको जनाउदै अझै निश्चित सङ्ख्यामा बिरामी आउन नसकेको उल्लेख गरे। वैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले गाउँपालिकाका आठ वडामध्ये सबैभन्दा वढी ७ र ८ मा थारु समुदायको बाहुल्य रहेको उल्लेख गर्दै गत वर्ष पनि रु पाँच लाख बजेट छुट्याइएकोे जानकारी दिए।
उनले वैजनाथमा नै स्क्रीनिङ कार्य नभएकाले कति बिरामी छन् भन्ने निश्चित नभएको उल्लेख गर्दै सबै बिरामी भेरी अस्पताल र नेपालगञ्जमा जाने गरेको बताए। कोहलपुर नगरपालिकाका सिकलसेल प्रमुख शिव गौतमले नगरपालिकामा अहिलेसम्म ४३ सिकलसेल र १८ थालसेमियाका बिरामी रहेको जानकारी दिए । उनले सिकलसेलका ७९४ बाहक र थालसेमियाका लक्षण देखिएका १४६ जना भएको बताए। पन्ध्र वडा रहेका नगरपालिकाको ६ र ७ मा सबैभन्दा बढी सिकलसेल र थालसेमियाका बिरामी छन्।
राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म २३ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रीनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए। तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए।
अहिले रोग नदेखिए पनि तिनबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको हो। सिकलसेल र थालसेमियाको स्क्रीनिङ कार्य जारी रहेकाले सो रोगका बिरामी अझै बढ्ने अनुमान गरिएको स्थानीय तहले जनाएका छन्।












