स्वास्थ्य स्वयंसेविकालाई प्रदेश सरकारको प्रोत्साहन भत्ता
दमौली, असार २० : स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या...
दमौली, असार २० : स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको हो। चार नगरपालिका र ६ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए। उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ।
महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको उनले बताए। शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई तीन लाख ३० हजार वितरण गरिसकेको छ।
बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ।
शुक्लागण्डकी नगरपालिकास्थित महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष लक्ष्मी सिग्देलले काम गरेबापत सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा हौसला बढेको बताइन्। उनीहरुले गाउँ–गाउँ, टोल–टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन्। (रासस)












