वर्षासँगै चलेको हावाहुरीले हलेसी तुवाचुङमा लाखौँको क्षति
हलेसी, असार १९ : वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पुर्याएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर...
हलेसी, असार १९ : वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पुर्याएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ। हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताए।
जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको तर हावाहुरीले उत्पादन दिनै नसक्ने गरी मकैको बोट ढलेको किसानले बताएका छन्। घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन्। मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवा नेता तामन राईले बताए।
हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङसमेत लडाएको जनाइएको छ। नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी आउन बाँकी रहेको जानकारी दिए। दुर्छिमको चुमाखु, रातमाटेलगायत ठाउँमा लगाइएको मकैबाली हावाहुरीले ढालेर जमिनमा मिलाएको पाइएको छ। हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबुलगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए।
हावाहुरीले मकैमा पुर्याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए। मकै सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाको प्रमुख बाली हो। वर्षासँगै चलेको हावाहुरीले अन्नबालीमा पर्याएको क्षतिबारे अनुगमन समिति गठन गरेर स्थलगत अध्ययनपछि कृषकलाई राहत उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले बताए। 'वर्षासँगै चलेको हावाहुरीले नगरपालिकावासी किसानको लाखौँ क्षति भएको छ,' उनले भनिन, 'उनीहरूलाई राहत दिलाउन अनुमगन समिति गठन गरेर स्थलगत अध्ययन गर्ने तयारी भइरहेको छ।'
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष लामो समयको खडेरीले मकैको बोट सुकेपछि उत्पादनमा गिरावट आएको थियो। मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेतीमात्र हुने सुख्खाग्रस्त क्षेत्र हलेसीमा लामो समयको खडेरीले असर गरेपछि नगरवासीमा भोकमरी भएको थियो। खानेपानीसमेत आकाशबाट झरेको वर्षाद्को पानी सङ्कलन गरेर उपभोग गर्दै आएका हलेसीका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न सहर पसेका थिए। खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई नगरपालिकाबाट राहत अनुदान वापत एक करोड ४० लाख रूपैयाँ बजेटबाट विनियोजन गरेर खाद्यान्न वितरण गरिएको थियो।
वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको किसानले बताएका छन्। हावाहुरीले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए।












