Kathmandu Press

१५ प्रतिशत दलित बालबालिका विद्यालयको पहुँचबाहिर

हुम्ला, असार १९ : हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। गाउँपालिकाको सहयोगमा गरिब...
१५ प्रतिशत दलित बालबालिका विद्यालयको पहुँचबाहिर

हुम्ला, असार १९ : हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो। 

सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि सिमकोटका ६९२ बालबालिकामध्ये १५ प्रतिशत ९१०६ जना० विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ। गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार आठ वडा रहेको सिमकोटमा सबैभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन्। 

Hardik ivf

तथ्याङ्क अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन्। सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२ र प्राविधिक शिक्षातर्फ ३०   दलित समुदायका विद्यार्थी अध्ययनरत छन्। 

स्नातकोत्तर उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य 

सिमकोटका आठवटै वडामा स्नातकोत्तर तह उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य रहेको छ। एक हजार ७७५ जनसङ्ख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन्। पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा नरहेको पाइएको छ। 

तीन सय ५५ दलित परिवार रहेको सिमकोट गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने तीन जना मात्रै छन्। उनीहरु वडा नं ५, ६ र ७ का एक एक जना रहेका छन्। सिमकोट–८ बाट एसइई उत्तिर्ण ४९ र कक्षा १२ सम्म अध्ययन गर्ने १२ जना मात्रै रहेका छन्। 

'दलित समुदायलाई आर्थिक अवस्थाले निकै सताएको छ, छाक टार्नकै निम्ति बालबालिका बाहेक अन्य घर बाहिर छन्,' गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष सुनारले भन्नुभयो। अभिभावक घरमा नहुँदा बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन बाध्य भएको तथ्याङ्कबाट खुलेको छ। बालबालिका पशु चराउन र भाइबहिनीको हेरचाहमा जुट्नुपर्ने कारणले दलित समुदायका बालबालिका विद्यालय जान सकेका छैनन्। 

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्