कञ्चनपुर उद्योग वाणिज्य संघ अध्यक्षमा जोशीद्वयको उम्मेदवारी
कञ्चनपुर, असार १८ : कञ्चनपुर उद्योग वाणिज्य संघको १७औँ कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्बर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन्।कञ्चनपुरमा व्यावसायिक...
कञ्चनपुर, असार १८ : कञ्चनपुर उद्योग वाणिज्य संघको १७औँ कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्बर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन्।
कञ्चनपुरमा व्यावसायिक क्षेत्रमा सक्रिय पिताम्बर बाणिज्य संघको बहाल बरिष्ठ उपाध्यक्ष हुन भने गणेश पूर्वअध्यक्ष हुन्। सङ्घको नेतृत्वका लागि दुवैजना आ–आफ्नो टोलीसहित चुनावी मैदानमा उत्रिएका छन्। पीताम्बर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन्।
यही असार २५ गते महेन्द्रनगरमा हुने निर्वाचनका लागि प्यानलसहित जिल्लाभर चुनावी दौडमा दुवै प्यानल छन्। पिताम्बर प्यानलले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ। सङ्घका वर्तमान अध्यक्ष जङ्गबहादुर मल्ल, पूर्वअध्यक्ष हेमराज पाण्डेय, माधव भट्टलगायतको साथ रहेको भन्दै आफू जित्नेमा पिताम्बर आशावादी छन्।
व्यवसायीको स्म्मान, मुलुक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले आफू व्यापारी, व्यवसायीको हकहित र अधिकारका लागि सक्रिय रहने बताए। सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापनादेखि मझगाउँ विमानस्थल सञ्चालनसम्मका निजी क्षेत्रको पहिलेदेखि नै सक्रिय पहल रहेको उनको भनाइ थियो। उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वरप्रसाद जोशी चुनावी प्रतिस्पर्धामा छन्।
गणेशदत्त प्यानलबाट वाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला सापकोटा भट्ट उम्मेदवार बनेका छन्। तीन हजार २०० भन्दा बढी मतदाता रहेको उद्योण वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षसहित ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन्।











