आगो लगाएर पत्नीकाे हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, असार १८ : मोरङमा पत्नीलाई आगो लगाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शुक्रबार राति १० बजेतिर रंगेली नगरपालिका–१ बिर्ताबजारमा स्थानीय ३१ वर्षीया बबिता मल्लिकको मटीतेल छर्की आगो लगाई हत्या गरेको आरोपमा पछि तिलक मल्लिक पक्राउ परेका हुन्।
घरायसी विवाद बढ्दै जाँदा तिलकले बबितालाई मटीतेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। आगलागीबाट उनीहरुको घर पनि जलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आगलागीबाट घरभित्रको लत्ताकपडा, भाडाकुँडा र अन्नपात जलेर दुई लाख बराबरको क्षति भएको छ।
जलेर घाइते भएकी बबितालाई प्रहरीले उद्धार गरी उपचारका लागि कोसी अस्पताल पठाएको र उपचारका क्रममा आज (शनिबार) बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको विवाह भएको ५ वर्ष भएको र घरमा उनीहरु दुई जना मात्र बस्दै आएको प्रहरीको भनाइ छ।
बबिताका पतिमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।












