Kathmandu Press

गाईघाटका पसल डुबानमा, लाखाैंको क्षति

गाईघाटका पसल डुबानमा, लाखाैंको क्षति
फाइल तस्बिर

उदयपुर, असार १८ : शुक्रबार राति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार  क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन्।

निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन्।

Hardik ivf

गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण शुक्रबार राति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य बस्तु नष्ट  भएको छ।

मुख्य गरेर गाईघाट  बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा  पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए।

अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरुको गुनसो  थियो।

त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले  शुक्रबार बेलुकीदेखि आएको निरन्तर भीषण बर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले  धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन सुरु गरेको जानकारी दिए।

क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको  र धेरै क्षति भएका कारण सबै आँकडा सङ्कलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाइ हुने  उहाँको भनाइ थियो।

नगरपालिकाका प्रमुख र उपप्रमुख  वसन्त बस्नेत र महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा आफूहरुले अध्ययन सुरु गरेको उपप्रमुख  राईले बताए।

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्