वर्षाले किसान खुसी, रोपाइँको चटारो
बैतडी, असार १८ : केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षा भएपछि रोपाइँ गर्न पाइएको र वर्षे बालीलाई पनि...
बैतडी, असार १८ : केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षा भएपछि रोपाइँ गर्न पाइएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।
वर्षा नभएर रोपाइँ गर्न नसकिनाका साथै मकै–भटमासलगायत वर्षे बाली सुक्ने अवस्थामा पुगेका बेलामा बल्ल किसानले राहत महशुस गरेका छन् ।
रोपाइँका लागि वर्षाले निकै राहत मिलेको दोगडाकेदार ३ श्रीकोटका किसान मानसिंह विष्ट बताउँछन्। उनले भने, ‘यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ।’
वर्षा भएसँगै यहाँका किसानलाई अहिले रोपाइँ गर्न चटारो छ। हालसम्म जिल्लामा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको केन्द्रका कृषि प्रशारण अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए।
जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकोमा असार मसान्तसम्म सकिने जनाइएको छ ।
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा रोपाइँ हुन बाँकी छ।












