पाँचखाल नगरक्षेत्रका प्रधानाध्यापकहरूको कार्यशाला
काभ्रे, असार १७ : पाँचखाल नगरपालिकाले नगर क्षेत्र भित्रका प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्वका विषयमा कार्यशाला आयोजना गरेको छ। नेतृत्व मन्थन शिर्षक दिएर आयोजना...
काभ्रे, असार १७ : पाँचखाल नगरपालिकाले नगर क्षेत्र भित्रका प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्वका विषयमा कार्यशाला आयोजना गरेको छ।
नेतृत्व मन्थन शिर्षक दिएर आयोजना भएको कार्यशालामा पाँचखालका सार्वजनिक तथा निजी विद्यालयहरूको प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।
पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै यसको लागि विद्यालयको नेतृत्वबीच सिकाइ आदानप्रदान गर्ने र नेतृत्वका विविध आयामबारे चिन्तन गर्ने मन्चको रूपमा कार्यक्रम आयोजना गरेको जानकारी दिए । नगरप्रमुख खरेलले शिक्षामा समग्र परिवर्तनको लागि अबको ५ वर्षमा मूलतः प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउने तर्फ नगरपालिका उन्मुख भएको जानकारी समेत दिए।
कार्यशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव डा। हरि लम्सालले प्रधानाध्यापकले आफूले आफूलाई स्तरोन्नति गर्ने उपायहरूबारे चर्चा गरेका थिए । ‘नेतृत्व बन्छ कि बनाइन्छ’ भन्ने विषयमा सह सचिव लम्सालले प्रधानाध्यापकहरूले आफ्नो ज्ञान र सीप अभिवृद्धि गर्ने तथा सरोकारवालाहरूसँग सम्बन्ध विस्तार गर्ने उपायहरूवारे पनि प्रस्तुति दिएका थिए।
‘माइ इमोसन्स म्याटर’ संस्थाकी सह–संस्थापक भावना श्रेष्ठले विद्यालयमा संवेगात्मक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका सम्बन्धी क्रियाकलाप सन्चालन गरेकी थिइन्। उनले प्रधानाध्यापकहरूको आफ्नै अनुभव र भूमिकाबारे छलफलको सहजीकरण गरेकी थिइन्। त्यस्तै ‘विद्यालयमा मानव संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका’ शीर्षकमा जब्स डाइनामिक्सका निर्देशक प्रयास राजोपाध्यायले विभिन्न क्रियापलापको माध्यमबाट प्रधानाध्यापकहरूबीच छलफलको सहजीकरण गरेका थिए।
शिखरापुर सामुदायिक क्याम्पस, फर्पिङका प्रमुख तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम व्यवस्थापक निरोज श्रेष्ठले शिखरापुरले समुदायसँग जोडिन गरेका प्रयासहरू उदाहरणको रुपमा प्रस्तुत गरेका थिए ।
कार्यशाला पश्चात पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले नेतृत्वका विषयमा आफुहरुलाई थप हौसला दिएको जानकारी दिए । किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले समुदाय र शैक्षिक संस्थाहरूले एक अर्काबाट सिक्नु अत्यन्त आवश्यक रहेको बताउँदै पाँचखाल नगरपालिकाबाट आफूले महत्वपूर्ण सिकाइ प्राप्त गरेको बताए।
पाँचखाल नगरपालिका र किङ्ग्स कलेज, काठमान्डौँको संयुक्त आयोजनामा भएको कार्यक्रमका पाँचखाल नगर क्षेत्रका सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरू सहभागि भएका थिए।












