५ लाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा
काबुल, असार १७ : आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब ५ लाख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम...
काबुल, असार १७ : आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब ५ लाख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ।
नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ।
सरकारी दबाब जारी रहेमा दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ।
अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक मन्दीबाट विस्थापित भएका छन् भने हालै भूकम्पले उनीहरूको भविष्य तहसनहस भएको छ।
ठूला शहरका बाहिरी क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्दै आएका उनीहरूलाई सरकारले तुरुन्त त्यहाँबाट बाहिरिन आह्वान गरेको छ। काबुलको बाहिरी इलाका मजार–ए–शरीफ र दाइकुण्डी तथा केही अन्य प्रान्तबाट तालिबानले धेरै विस्थापितहरूलाई धपाएको आरोप छ।
परिषद्का निर्देशकले उपयुक्त विकल्प सुनिश्चित नभएसम्म अनौपचारिक बस्तीहरू बन्द गर्दा पीडितहरूमाथि थप प्रभावित हुने र उनीहरू ठूलो जोखिममा पार्ने बताए।
गत वर्षको द्वन्द्वले सातलाखभन्दा बढी अफगानी आफ्नो घर छोड्न बाध्य भएका तथा विगतमा विस्थापित भएका ५५ लाख घरवारविहीनमा ती थपिएिका अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम०ले जनाएको छ। विशेष गरी महिला र केटीहरूले बढ्दो सुरक्षा जोखिमको सामना गरिरहेका छन्।
सन् १९९० देखि २००१ सम्म देशमा शासन गरेको तालिबानले गत वर्ष त्यहाँबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि शासनसत्ता पुनः आफ्नो हातमा लिएको छ। देश अहिले प्रणालीगत पतनको छेउमा पुगेको छ।
देशको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको सख्त आवश्यकता परेको छ तर सहायता प्राप्त हुने लक्षण देखिएको छैन। गरिबीमा डुबेका अफगान नागरिक इरान र पाकिस्तान पलायन भएका छन् भने आगामी दिनहरूमा पनि त्यो क्रम जारी रहने सम्भावना रहेको छ।
जीविकोपार्जन जटिल बन्दै जाँदा उनीहरू विकल्पविहीन भएका छन् जसले विस्थापन र आप्रवासनका समस्यालाई अझ जटिल बनाएको छ।












