Kathmandu Press

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

काठमाडौं, असार १७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ। भरतपुर अस्पतालमा...
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

काठमाडौं, असार १७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ। 

भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको  परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ। उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उनले जानकारी दिए। 

Hardik ivf

पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताए । एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उनको भनाइ छ। भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताए। उनले भने, ‘औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उनले जानकारी दिए। 

जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मात्रै ३७ जनामा पुष्टि भएको हो । अहिले जिल्लामा एक हजार ७३ जनाले एचआइभी एड्स प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् । सोही अवधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारिस लगेका छन्। 

यस्तै ६ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको सापकोटाले जानकारी दिए। सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको छ। 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्