आँप खेतीप्रति किसान आकर्षित

काठमाडाै., असार १५ : धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन्।
करिब एक बिघा क्षेत्रफलमा लगाउनुभएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु. ५ लाखभन्दा बढी कमाउन उनी सफल भएका छन्।
आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन्। 'एक वर्षमै रु पाँच लाखको आँप उत्पादन हुन्छ भन्ने विश्वासै थिएन तर उत्पादन बढेपछि उत्साहित भएको छु,' महतोले भने, 'अब थप एक बिघा जग्गामा आँपको बोट लगाउने सोच बनाएको छु।' निम्न मध्यवर्गीय परिवारका महतोले आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफ्नो आयस्तरमाथि उठेको उहाँ बताउनुहुन्छ। आँप खेतीबाटै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएको महतोको भनाइ छ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ श्रीपुुरका जगदीश चौधरीले पनि यसवर्ष आँप खेतीबाट करिब रु नौ लाख कमाइ भएको सुनाउनुभयो। विगत एक दशकदेखि व्यावसायिक रुपमा आँप खेती गर्दै आएका चौधरीले आँप खेतीकै कमाईबाट पक्की भवन बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन्।
'अहिले आँपको बगैँचा लगाइएको तीन बिघा जग्गामा पहिला धानबाली लगाउँदै आएको थिएँ', चौधरीले भने, 'धानबालीमा लगानीअनुसारको फाइदा हुँदैन्थ्यो, त्यसैले धानबाली लगाउने खेतमै आँपको बगैँचा लगाएको छु, अहिले आँप खेतीबाटै वर्सेनि राम्रै आम्दानी भइरहेको छ, यसबाट सन्तुष्ट छु।'
लहान नगरपालिका–१५ ढोढनाका अशोक चौधरीले यसवर्ष आँप राम्रै फलेको बताए। रमेश, जगदीश र अशोक मात्र होइन्, धनुषा, सिरहा र सप्तरीका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन्। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको श्रीपुर गाउँ आँप खेतीको लागि प्रख्यात छ। सो गाउँमा प्रायः सबैको घरमा आँप बिक्रीबाटै चल्छ।
पूर्व–पश्चिम राजमार्गको आसपास क्षेत्रमा पर्ने सप्तरीको सीतापुर, घोघिदाहा, महुली, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दीपुर, धनुषाको वीरेन्द्रबजार, गोदार, ढल्केबरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ।
सप्तरी, सिरहा र धनुषामा उत्पादन हुने आँप काठमाडौँ, पोखरा, बुटवलका साथै भारतीय बजारमा बिक्रीका लागि लैजाने गरिन्छ। किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप बढी उत्पादन गर्ने गरेका छन्।











