Kathmandu Press

बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए

बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए

नेपालगञ्ज, असार १४ : बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५।५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।  

बाँकेका ७६ हजार २३९ लाई खोप लगाउने लक्ष्य लिइएको थियो तर चार दिनको अभियानमा बाँकेका ९५।५ प्रतिशत अर्थात् ७२ हजार ७८८ बालबालिकाले मात्र खोप लगाएका छन्। यही असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन नौ हजार दुई र चौथो दिन ११ हजार ९४७ जना गरी कूल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

‘यो खोप असार १२ गतेसम्म भनिएकामा आवश्यक छुटेका बस्तीका बालबालिकालाई लक्षित गर्दै आवश्यकताअनुसार १४ गते पनि स्थानीय तहमा तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ,’ फोकल पर्सनसमेत रहेका श्रेष्ठले भने। पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका आठ पालिकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो। 

Hardik ivf

यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो । कोहलपुर र बैजनाथमा शत्प्रतिशत खोप लगाइएको छ । बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह चार लाख एक हजार ७९९ मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको सङ्ख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको सङ्ख्या ७१.६ प्रतिशत रहेको छ । 

बुस्टरको मात्रा लगाउनेको सङ्ख्या भने १८।२२ प्रतिशत मात्रै रहेको छ । कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले शत्प्रतिशत खोप लगाएका छन् । कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १६ हजार ८५३ जनाले खोप लगाएका छन्। 

यस्तै बैजनाथ गाउँपालिकाका आठ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल आठ हजार ३९१ जनाले खोप लगाएका छन् । यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र बिदामा घर आएका बालबालिकासमेत भेटिएकाले उनीहरूलाई पनि खोप लगाइएकाले लक्ष्यभन्दा बढीले खोप लगाएका हुन् । खोप अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । यहाँ कूल नौ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको तर कूल सात हजार २७ जना बालबालिकाले खोप लगाएका छन् ।

खजुरा गाउँपालिकाको खोप प्रगति ७६।९ प्रतिशत छ । यहाँ आठ हजार २२४ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै जानकी गाउँपालिकाको खोप प्रगति ६४।२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर जानकीका चार हजार ९४ जना बालबालिकाले खोप लगाएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको खोप प्रगति ७६।७ प्रतिशत रहेको छ । नेपालगञ्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १५ हजार ५२२ ले मात्र खोप लगाएका छन् । खोप अभियानअन्तर्गत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९।३ प्रतिशत रहेको छ । यहाँ कूल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल चार हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो। तर यहाँका कूल तीन हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएका छन् ।

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्