Kathmandu Press

सवारी दुर्घटना : तीनमहिनामा ३४ जनाको मृत्यु

चितवन, असार १३ : चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको...
सवारी दुर्घटना : तीनमहिनामा ३४ जनाको मृत्यु

चितवन, असार १३ : चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। 

Hardik ivf

गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उहाँको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए।

दुर्घटनाको सङ्ख्या हरेक महिना घटबढ हुँदै आइरहेको भन्दै सवारी चालकले सचेत भएर सवारी साधन चलाए आफै दुर्घटना न्यूनीकरण हुने उनले बताए। उनले क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही गर्दै आइरहेको भन्दै स्वयं चालक सचेत नभएसम्म समस्या बल्झिरहने बताए। ‘तीव्र गति र सिट क्षमताभन्दा धेरै यात्रुका कारण पनि दुर्घटना बढेको देखिन्छ,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘न्यूनीकरणका लागि हामीले जनचेतना जगाउने काम पनि गर्दै आइरहेका छौँ ।’ 

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा दुई हजार ५२६, वैशाखमा दुई हजार ५२८ र जेठ महिनामा तीन हजार २१० सवारी साधनलाई कारबाही गरिएको छ ।

कारबाहीबापत ट्राफिक प्रहरीले राजस्वसमेत उठाउँदै आइरहेको छ । तीन महिनामै कार्यालयले कारबाहीबापत रु ७६ लाख ४९ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । सबैभन्दा धेरै गत जेठमा रु ३० लाख पाँच हजार, वैशाखमा रु २३ लाख ३९ हजार ५०० र चैतमा रु २३ लाख नौ हजार ५०० राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्