एमबीबीएस पढ्न स्थानीय सरकारले २० लाख सहयोग गर्ने
ताप्लेजुङ, असार १३ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबीबीएस पढ्न आर्थिक सहयोग गर्ने भएको छ।यसका लागि पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्नेछ। यसबाट गाउँपालिकाको स्वास्थ्य...
ताप्लेजुङ, असार १३ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबीबीएस पढ्न आर्थिक सहयोग गर्ने भएको छ।
यसका लागि पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्नेछ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।
गत शुक्रबार मैवाखोलाको ११औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो। गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए।
आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए।
गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।
एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ। प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने भएको छ।
सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए।
पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए।
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु¥याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।












