‘एडभेन्चर हब’ द क्लिफमा नेपालमै पहिलोपटक ‘स्काई ग्लाइडिङ’ को मज्जा
काठमाडौं, असार १३ : विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरेर एडभेञ्चर हब बनेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल...
काठमाडौं, असार १३ : विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरेर एडभेञ्चर हब बनेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काई ग्लाइडिङ’ सञ्चालनमा ल्याएको छ।
स्काइ ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ। एउटा टावरबाट अर्को टावर जान तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लट्ठा (फलामे डोरी) माथि घिर्निमा झुण्डिदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ। टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ।
स्काइ ग्लाइडिङ खेल्न प्रतिब्यक्ती १२ सय लाग्ने बताइएको छ। उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्नेछन्।
एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उदेश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। बन्जीको र स्विङका लागि प्रख्यात द क्लिफमा अहिले ११ वटा साहसिक खेलहरू सञ्चालनमा छन्।
स्काइ क्याफे, हर्स राईडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन्। स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन्।












