शैक्षिक गुणस्तर सुधार गर्न स्वयंसेवक शिक्षक
चितवन, असार १२ : चितवनको इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम शुरुआत भएको छ।राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास...
चितवन, असार १२ : चितवनको इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम शुरुआत भएको छ।
राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम शुरु गरिएको हो। सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनि गरिएको कार्यक्रमको इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुरु गरेका छन्।
उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवालाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। गाउँपालिकाले पनि विद्यालयमा युवा स्वंसेवक शिक्षकको परिकल्पना गरेको उनले जानकारी दिए।
विशेषगरी शिक्षक बिरामी हुँदा वा अन्य कारणले लामो समय बिदा दिनुपर्ने अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ। यस कार्यक्रमले युवामा स्वयंसेवा गर्ने भावना पैदा हुने जनाइएको छ। यस कार्यक्रममा सहभागी ५० युवालाई प्रशिक्षण दिइएको छ। (रासस)












