Kathmandu Press

चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने

भाेजपुर, असार ११ : पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति...
चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने

भाेजपुर, असार ११ : पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ। शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो। त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ।

'खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षा पौवादुङमावासीलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मूल नाराका साथ शुक्रबार सम्पन्न भएको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले यस्तो नीति सार्वजनिक गरेको हो। विद्यार्थीमा उत्पेरणा थप्ने लक्ष्यले यस्तो व्यवस्था लागू गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

उनले भने, 'गाउँपालिकाले विद्यार्थीमा पढाइप्रति लगाव बढाउनका लागि अध्ययन खर्चको व्यवस्था गर्ने नीति लिएको छ। एसइईमा उच्च अङ्क ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएका छौँ  तर त्यस्ता विद्यार्थीले केही समय गाउँपालिकाको विद्यालय तथा अस्पतालमा अनिवार्यरुपमा सेवा गर्नुपर्नेछ। यसका लागि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउछौँ।'
 
गाउँसभामार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा दिँदै  नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७९/८० का लागि जम्मा रु ४१ करोड दुई लाख ७६ हजार १० बराबरको अनुमानित बजेट  सार्वजनिक गरिएको छ। चालुतर्फ शिक्षा, स्वास्थ्य र  कृषिसमेतको रु २५ करोड ५८ लाख ७६ हजार र पुँजीगततर्फ रु १५ करोड ४४ लाख खर्च हुने अनुमान गरिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो। 

पुँजीगततर्फ ३७ दशमलव ६४ र चालुतर्फ ६२ दशमलव ३६ प्रतिशत बजेट विनियोजन भएको छ। बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोस्रो प्राथमिकतामा राखिएको छ। अध्यक्ष राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको  जानकारी दिए।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्