महोत्तरीमा वर्षौंदेखि लाखौं मूल्यका काठ कुहिँदै
महोत्तरी, असार ११ : महोत्तरीमा वर्षौंदेखि लाखौंको काठ कुहिन थालेको छ। सामुदायिक वनबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो ।काठसम्बन्धी...
महोत्तरी, असार ११ : महोत्तरीमा वर्षौंदेखि लाखौंको काठ कुहिन थालेको छ। सामुदायिक वनबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो ।
काठसम्बन्धी मुद्दा लामो समयसम्म किनारा नलाग्दा बरामद काठसँगै सवारीसाधन समेत जिल्ला वन कार्यालयको परिसरमा कुहिएर नष्ट हुँदा लाखौंको राजस्व पनि गुमेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनिराम यादवले बताए।
वन कार्यालय र मातहातका कर्मचारीलाई प्रदेश सरकारको मातहतमा राखिए पनि महोत्तरीमा अवैध तरिकाले कटान गरी चोरी निकासी गर्न लागिएको काठसम्बन्धी मुद्दा भने लामो समयसम्म किनारा लाग्न सकेको छैन ।
वन पैदावार चोरी निकासी र अतिक्रमणबारे डिभिजन वन कार्यालयमा आर्थिक वर्ष २०४८÷४९ देखि २०७८÷७९ सम्म दर्ता भएका २०३ मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन । मुद्दा सङ्ख्या न्यून रहेको महोत्तरीमा एक वर्षको अवधिमा सबैभन्दा बढी ०६७÷६८ मा २६ मुद्दा दर्ता भएका थिए ।
चोरी पैठारी भएको काठ बरामद भएर पाँच वर्षदेखि हालसम्म कुनै पनि मुद्दाको काठ लिलाम नभएको सशस्त्र वन सुरक्षा शाखाले जनाएको छ । सशस्त्र वन सुरक्षा शाखा परिसर र आसपासका जङ्गलमा वर्षौंदेखि राखिएका बहुमूल्य काठ कहिन थालेका छन् ।












