Kathmandu Press

बाँके कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

नेपालगञ्ज, असार ११ : बाँकेको नेपालगञ्ज–१० स्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी  कैदीबन्दी रहेका छन्। जसले गर्दा सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।२०२०...
बाँके कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

नेपालगञ्ज, असार ११ : बाँकेको नेपालगञ्ज–१० स्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी  कैदीबन्दी रहेका छन्। जसले गर्दा सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।

२०२० सालमा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ। कारागार विभागले तीन सय जना क्षमता निर्धारण गरेकामा अहिले सात सय ७६ कैदीबन्दी रहेका छन्।

कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ। कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए।
बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ। कैदीबन्दीलाई विभिन्न रोगको जोखिम पनि रहेको उनले बताए।

कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्।

कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ। कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ। ढल निकासको व्यवस्था छैन।

फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ। फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ। (रासस)

प्रकाशित मिति: ०८:१७ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्