म्याग्दीको एउटै गाउँपालिकामा २१६ पहिरो
म्याग्दी, असार ११: म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिरोका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।उत्तरी म्याग्दीको...
म्याग्दी, असार ११: म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिरोका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा छन्। पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ।
यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए।
गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए। उनले भने, 'बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन।'
यसैगरी ५२ घर रहेको रघुगङ्गा–८ चौरखानीमा ३० परिवारको बसोबास छ। पहिरोकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेका छन्। गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन्।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ। पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले बताए।
यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो। बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए।
वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ। यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए।
दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो। हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन्। सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन्।
यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन्।
गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो। दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन्।
चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो। अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन्। (रासस)












