जेहेन्दार विद्यार्थीलाई बेथानचोकले दियो एक लाख छात्रवृत्ति
काभ्रेपलाञ्चोक, असार १० : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले वडा २ घर भएका विजय घलानलाई १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।गाउँपालिकाले शुक्रबार एक कार्यक्रमबीच...
काभ्रेपलाञ्चोक, असार १० : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले वडा २ घर भएका विजय घलानलाई १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।
गाउँपालिकाले शुक्रबार एक कार्यक्रमबीच एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत घलानलाई जेहेन्दार विद्यार्थी छात्रबृत्ति स्वरुप सो रकम हस्तान्तरण गरेको हो ।
उनी पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटिमा एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सो भन्दा माथि अध्यनरत विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति दिने घोषणाअनुरुप आज रकम वितरण गरेको गाउँपालिका प्रबक्ता एवं वडा १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए।
‘पालिका अध्यक्षको पहिलो निर्णयअनुसार आज जेहेन्दार छात्रवृत्तिबापतको एक लाख प्रदान गरेको छौं,’ उनले भने, ‘अध्ययन पूरा गरेर फर्केपछि उनलाई थप एक लाख रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय भएको छ।’
स्थानीय तह निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकामा अध्यक्ष पदमा नवनिर्वाचित भएपछिको पहिलो बैठकमा अध्यक्ष भगवान अधिकारीले प्रत्येक आर्थिक वर्षमा पाँच किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, स्नातक तहमा अध्ययनरत प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययनरत जेहेन्दार छात्राछात्रलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउने र ६० वर्षमाथिका जेष्ठ नागरिकहरुको निःशुल्क पूर्ण शरीर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णयमध्येको जेहेन्दार छात्रबृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ।
यसैबीच बेथानचोक गाउँपालिकाले कोभिड–१९ को संक्रमणबाट मुत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजारका दरले नगद वितरण गरेको छ।
कोरोना संक्रमणबाट मृत्यू भएका परिवारलाई प्रति परिवार ५० हजारका दरले रकम वितरण गर्ने निर्णय भए अनुरुप आज पालिकाले कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको गाउँपालिका प्रबक्ता एवं वडा १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए। कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारलाई काजकिरिया खर्च स्वरुप दुःखद अवस्थामा रहेको परिवारलाई स्थानीय सरकारको तर्फबाट राहत स्वरुप रकम वितरण गरेको हो।
कोरोना संक्रमणबाट १५ जनाको मृत्यू भएकोमा आज ८ परिवारलाई सो रकम विरतण गरेको र बाँकीलाई पछि विरतण गर्ने गाउँपालिकाले जनाएको छ।
त्यसैगरी गाउँपालिकाको आयोजना, लायन्स क्लव अफ कञ्चनजंगाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बेथानचोकको व्यवस्थापनमा गत वडा २, ५ र ६ मा गरेको आँखा शिविरमा परीक्षण भएका मध्ये ४१ जनाको आज मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
यसअघि सहञ्चालन भएको शिविरमा ५१८ जनको आँखा परीक्षण भएकोमा ८३ जनाको मोतिय विन्दु शल्यक्रिया गर्नुपर्ने भएकोमा आज सम्पर्कमा आएका ४१ जनाको शल्यक्रिया गरेको गाउँपालिकाले जनाएको छ।












