हिमाल आरोहणसँगै अनुसन्धान गरी म्याट्सका विद्यार्थीले राखे रेकर्ड
काठमाडाैं, असार ९ : स्नातकोत्तर तह (म्याट्स) का विद्यार्थीले हिमाल आरोहण गरी उच्च स्थानमा अध्ययन, अनुसन्धानसम्बन्धी रेकर्ड कायम गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...
काठमाडाैं, असार ९ : स्नातकोत्तर तह (म्याट्स) का विद्यार्थीले हिमाल आरोहण गरी उच्च स्थानमा अध्ययन, अनुसन्धानसम्बन्धी रेकर्ड कायम गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको सम्बन्धनमा सञ्चालित मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) को पहिलो ब्याचका विद्यार्थीहरूले तेस्रो सेमेस्टरमा समावेश ६ हजार मिटरको हिमालको एकेडेमिक फिल्ड रिसर्च अन्तर्गत मनाङ जिल्लामा रहेको चुलु हिमाल (६०३९ मि) को २०७९ असार ७ गते १६ जना विद्यार्थी, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले एकैसाथ सफल आरोहण गरि कीर्तिमान कायम गरेका छन्।

विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आरोहण सहितको फिल्ड रिसर्चका लागि गत जेठ २९ गते यस तर्फ प्रस्थान गरेका थिए। यस आरोहण समूहमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेरोज्ड मोगादशी छन्। क्लाइम्बिङ गाइडहरूमा फुर्वा ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा सोनाम शेर्पा छन्।क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटो खोली फिक्स रोप लगाएका थिए।

असार ७ गते मंगलबार विहान १ वजे वेसक्याम्प ४८०० मिटरबाट अन्तिम आरोहण (समिट पुस) सुरु भएको थियो। माउन्टेन गाइडहरू छिरिङ जाङबु शेर्पा र आशिष गुरूङले विद्यार्थीको समूहलाई नेतृत्व गर्दै चुचुरोतर्फ लगेका थिए।
आरोहणका क्रममा प्रशिक्षकहरूले हिमाल आरोहणसम्बन्धी कला, सामग्रीको प्रयोग, हिउँसम्बन्धी जानकारी, फिक्स रोपको प्रयोग र टाँङने तरिका, हिउँ पहिरो, हिमालमा देखिने कृभास र यसबाट बच्ने तरिकाको जानकारी दिँदै चुलु हिमाल आरोहण गराई फिल्ड अब्जरभेसन गराएको थियो। आरोहणका क्रममा विद्यार्थीहरूले तथ्यांक संकलन गरेका थिए।

विश्वमै पहिलो पटक हिमाल आरोहण सहितको फिल्ड रिसर्चको एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेको छ। विद्यार्थी सहितको आरोहण टिम यही असार १२ गते काठमाडौं आइपुग्ने एक्पिडिसन कम्पनीले जनाएको छ।
हिमाल पारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ जिल्लामा कम वर्षा हुने हुँदा मनसुनको समयमा समेत हिमाल आरोहण सहितको पर्यटकीय गतिविधि गर्न सकिने यो एकेडेमिक आरोहणको सफलताबाट पुष्टि भएको छ।















