Kathmandu Press

औलो रोग निवारण कार्यक्रम जारी

कञ्चनपुर, असार ९ : सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्न तीव्र रुपमा कार्य अगाडि बढाइएको छ।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या...
औलो रोग निवारण कार्यक्रम जारी

कञ्चनपुर, असार ९ : सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्न तीव्र रुपमा कार्य अगाडि बढाइएको छ।प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्न र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्‍याउन कार्य अगाडि बढाएको हो।

औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङ, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम गराउने कार्यसमेत भइरहेको छ। 

Hardik ivf

'नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गरिसक्ने लक्ष्य लिएको छ,' उनले भने, 'लक्ष्य हासिल गर्नका लागि लगातार तीन वर्षसम्म औलो पोजिटिभ बिरामीको सङ्ख्या शून्य कायम हुनुपर्छ, शङ्कास्पद औलो रोगीको जाँच पनि उच्च जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको १० प्रतिशत, मध्यम जोखिम क्षेत्रमा पाँच प्रतिशत र न्यून जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको तीन प्रतिशत कायम हुनुपर्दछ।' रोगीको सङ्ख्या शून्यमा झार्न र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्‍याउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम अगाडि बढाएको उनले बताए। 

नेपालका सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा औलो बिरामीको भार अत्यधिक रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालयसँग रहेको छ।आव  २०७७/७८ मा कूल औलोका बिरामीको सङ्ख्या ३७७ मध्ये सुदूरपश्चिममा मात्र २२३ फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

चालु आर्थिक वर्षको आजसम्म कूल ४५० औलोका बिरामी देखा परेका छन्।त्यसमध्ये सुदूरपश्चिममा मात्रै १७१ बिरामी देखा परेका छन्।धेरै औलो बिरामी सुदूरपश्चिम प्रदेशमा मात्र भएको हुनाले सुदूरपश्चिमले औलो रोग निवारणको लक्ष्य समयमै हासिल गर्न अन्य प्रदेशको तुलनामा झन् बढी काम गर्नु पर्ने  स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशी बताउँछन्।
 
सुदूरपश्चिमका तराईका कैलाली र कञ्चनपुरका बासिन्दा मात्रै औलोका बिरामी नभएर पहाडी क्षेत्रका जिल्लाका बासिन्दामा समेत उत्तिकै औलोको जोखिम रहेको छ।सुदूरपश्चिमको पहाडी क्षेत्रमा बसोबास गर्ने बासिन्दामा समेत औलो रोग देखा पर्न थालेको छ।जलवायु परिवर्तनसँगै लामखुट्टे पहाडी क्षेत्रमा समेत बाच्नसक्ने भएपछि औलोको जोखिम बढेको स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशी बताउँछन्। 

'पहिला तराई क्षेत्रमा मात्रै लामखुट्टे पाइन्थ्ये, औलोको जोखिम तराईका बासिन्दामा मात्रै सीमित थियो,' उनले भने, 'तापक्रममा (ग्लोबल वार्मिङ) वृद्धि हुने क्रमसँगै लामखुट्टेले पहाडी क्षेत्रको हावापानीमा बाँच्न सक्ने क्षमता विकास गरेपछि औलोका बिरामीसमेत देखिन थालेका हुन्।' केही वर्षयतादेखि लामखुट्टेबाट बच्न झुलको प्रयोगलाई व्यापक बनाउने कार्यसँगै कीटनाशक औषधि छर्कने कार्यले औलोका बिरामी घट्दै जान थालेका छन्।
 
सरकारले निःशुल्क रुपमा ग्रामीण क्षेत्रका बासिन्दालाई औलोबाट जोगाउन कीटनाशक झुल वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।औलो रोग पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ।यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ।औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिन्छन्।यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजर आउने, कोमामा जाने र मृत्यु हुने सम्भावना बढी हुन्छ। 

लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्‍याे भने त्यसको १० देखि १५ दिनमा लक्षण देखिन सुरु हुन्छ। औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्न सकिन्छ। लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने कार्यसँगै घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्