तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति
पेरिस, असार ८ : पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ। उक्त प्राकृतिक विपत्तिका कारण अन्य...
पेरिस, असार ८ : पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ। उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन्।
करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ। सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो।
फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो। यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो।
सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए।
पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४, १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी चार हजार ५०० व्यक्तिको मृत्यु भएको थियो। हजारौं घरबारविहीन भएका थिए। सोही बर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको छ। यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो। भूकम्पका कारण एक हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए।
२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो। सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ।
त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो। हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौं घरबारविहीन भएका थिए। भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन शहर पूरै ध्वस्त भएको थियो।
जून ११, २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो। चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए।
अक्टोबर २६, २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो।












