Kathmandu Press

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

काबुल, असार ८ : अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ।देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार...
अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

काबुल, असार ८ : अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ।

देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो।

खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन्।

Hardik ivf

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन्। स्थानीय समय अनुसार विहान १.३० बजेतिर भूकम्प आएको हो।

घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन्।

भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। सो संस्थाका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो।

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए।

घटनास्थलबाट विवरणहरू संकलन गर्ने कार्य भइरहेकाले क्षतिको पूर्ण र यथार्थ विवरण आउन बाँकी नै रहेको पनि उनले बताए।

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्