Kathmandu Press

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवन, असार ८ : जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ।

यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयले आज यहाँ पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो।

असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ। रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो। केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुनेछ। 

Hardik ivf

जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उनले जानकारी दिए। जसअन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा सात हजार ३५० बालबालिकालाई खोप दिइँदैछ।

 यस्तै कालिका नगरपालिकामा चार हजार १९२, राप्ती नगरपालिकामा आठ हजार ९१४, माडी नगरपालिकामा पाँच हजार ३६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ। 

केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ। जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उहाँले जानकारी दिए। खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने उनले बताए।

भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदैछ। माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिए। 

हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो। सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ। दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उनले जानकारी दिए। खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। 

गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो। पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताए। जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। 

यस्तै चार लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए। उनका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन्। १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उनले बताए। 

जिल्लामा हालसम्म ३३ हजार ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। अहिले सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ।

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्