Kathmandu Press

मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

काभ्रे, असार ८ : पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ।मालवाहक सवारीसाधनका लागि पनौती ५...
मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

काभ्रे, असार ८ : पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ।

मालवाहक सवारीसाधनका लागि पनौती ५ स्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ। जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो।

पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न/गराउनसमेत आग्रह गरेको छ।  

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित) को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो। सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो।

दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारीसाधनमा भारमापनमा कडाइ गर्नु परेको पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले बताए। गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो।

बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ। ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको हो।

मालवाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताए। उनका अनुसार सबै मालवाहक सवारीसाधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ।

निर्देशिकाअनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ। तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीसाधनले १५० तिर्नुपर्छ।

बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारीसाधन चल्ने गर्छन्। मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको छ। (रासस)

प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्