Kathmandu Press

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन नाडाकाे माग

काठमाडाैं, असार ७ : नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। आज नाडाका अध्यक्ष ध्रुवबहादुर...
सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन नाडाकाे माग

काठमाडाैं, असार ७ : नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। आज नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो।

देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो। जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो।

नाडाले सरकारले उक्त निर्णय खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न उद्योगमन्त्रीसँग आग्रह गरेको हो। अध्यक्ष थापाले मन्त्री बडूसँग पछिल्लो समय अटोमोबाइल्स क्षेत्रमा ८० प्रतिशत ह्रास आएको बताए।

नाडाले अटो एक्सपो २०२२ आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागेको भन्दै उक्त समयमा निजी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन समेत आग्रह गरेको छ।

अटो मोबाइल्स व्यवसायीसँगको भेटमा मन्त्री बडूले सरकारले असार मसान्तसम्म मात्रै आयातमा रोक लगाएको भन्दै धैर्य गर्न व्यवसायीलाई आग्रह गरेका थिए। उनले आगामी साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा हुने आश्वासन व्यक्त गरेकाे नाडाले जनाएको छ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्