Kathmandu Press

जिससमार्फत निर्माणाधीन भवनको अनुगमन

जिससमार्फत निर्माणाधीन भवनको अनुगमन

काठमाडौं, असार ७ : जिल्ला समन्वय समिति (जिसस) काभ्रेमार्फत स्थानीय तहमा आवश्यकीय भवन निर्माण भइरहेका छन् । सो क्रममा रोशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। 

जिससको मौज्दात बजेटमार्फत ७ नं वडास्थित अमलटारमा उक्त भवन निर्माण भएको हो । जिससको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अर्थात् रु ५८ लाखमा भवन निर्माण सम्झौता भएको थियो । जिससले यसअघि रु १२ करोड रकम जिल्लास्थित १३ स्थानीय तहलाई आवश्यकीय भवन निर्माणार्थ बाँडफाँट गरेको थियो । 

Hardik ivf

अन्य तहमा प्रशासकीय, वडा तथा स्वास्थ्य कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको र तिनीहरूको अनुगमनकार्य सुरु गरिएको नवनिर्वाचित जिसस प्रमुख दीपक गौतमले बताए । ‘जिससको बजेटमार्फत जिल्लाका स्थानीय तहमा विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, के–कति निर्माण प्रगति भए टोली बनाएर तिनीहरूको अनुगमन थालेका छौँ,’ उनले भने।

‘म्याचिङ फण्ड’बाट पालिकाको भवन निर्माण भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। उनका अनुसार स्थानीय छ व्यक्तिद्वारा निःशुल्क प्रदान गरिएको १० रोपनी जग्गामा निर्माण सम्पन्नको चरणमा रहेको उक्त भवन आठकोठे रहेको छ । यसका साथै गाउँपालिकाको अर्को ३७ कोठे भवनसमेत निर्माण थालिएको छ।
 
स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)र गाउँपालिकाको ६०–४० प्रतिशत अर्थात् कूल रु छ करोड पाँच लाखको लागतमा निर्माण थालिएको उक्त भवन आउँदो २०८१ सालमा सम्पन्न हुनेछ। सोमबार जिसस प्रमुखको नेतृत्वको एक टोलीले गाउँपालिकाका निर्माणाधीन दुवै भवनको निरीक्षण गरेको हो। 

उक्त टोलीले रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्ग तथा रोशी नदी किनारबीचमा निर्माणाधीन तामाङ समुदायको डम्फु जीवन्त सङ्ग्रहालयको समेत अनुगमन गरेको छ। राष्ट्रिय योजना आयोगको ११ करोड बजेटमा उक्त सङ्ग्रहालयमा आठ दशमलव पाँच मिटर डायमिटरको डम्फु निर्माण गरिँदैछ भने पुस्तकालय, तामाङ संस्कृति झल्कने सामग्री प्रदर्शनी भवन तथा वनभोजस्थल निर्माण गरिने योजना छ। 

त्यसैगरी टोलीले बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा बाढीका कारण करिब २०० मिटर क्षतिग्रस्त सडकसमेत अनुगमन गरेको छ । उक्त स्थानमा साताअघि एक निजी गाडी बाढीले सडकमै पुरिएको थियो । हाल उक्त स्थानमा दायाँबायाँबाट सवारी आवागमन गरिएको छ । ‘सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै सडक सहज बनाउँछौँ,’ गौतमले भने।

प्रकाशित मिति: १०:१६ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्