इन्धनको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने अनेरास्ववियुकाे चेतावनी
काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। अनेरास्ववियुले आज...
काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। अनेरास्ववियुले आज (आइतबार) विज्ञप्ति जारी गरेर मूल्यवृद्वि फिर्ता नलिए त्यसविरुद्ध सशक्त ढंगले आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी भारी मात्रामा मूल्य वृद्धि गरेको थियो। जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेल-मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गरिब जनताको चुलो बल्ने अवस्था छैन, अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित छ। देशमा राज्य छ कि छैन भन्ने अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ।’
जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखेर गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुले माग गरेको हो।
साथै, अनेरास्ववियुले जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मुल्यवृद्वि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आह्वान समेत गरेको छ।













