Kathmandu Press

राज्यका हरेक संरचनामा दलित महिलाको समान सहभागिताको माग

राज्यका हरेक संरचनामा दलित महिलाको समान सहभागिताको माग

काठमाडाैं, असार ५ : दलित समुदायका महिलाको राज्यका हरेक संरचनामा समान सहभागिताको माग गरिएको छ। दलित महिला सङ्घ (फेडो) द्वारा यहाँ आज नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यका लागि आयोजना गरिएको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा महिला नेत्री तथा दलित महिला अधिकारकर्मीले उक्त माग गरेका हुन।

कार्यक्रमका सहभागीले दलित महिला दोहोरो मारमा परेको भन्दै उनीहरुको लागि राज्यले विशेष आरक्षणसहित प्रत्येक संरचनामा समान सहभागिताका लागि जोड दिनुपर्ने बताए। समाजवादी पार्टीकी सचिव दुर्गा सोवले समाजमा दोहोरो, तेहेरो विभेद भोग्दै आएका दलित महिलालाई स्थानीय तहको निर्वाचनमा निर्णायक तहभन्दा पनि वडा सदस्यमै सीमित गरिएको आरोप लगाए।

Hardik ivf

'मुलुक परिवर्तनमा दलित महिलाको अतुलनीय योगदान छ, व्यवस्था परिवर्तन भएको छ तर दलित महिलाको अवस्था उस्तै छ, उनीहरुले हरेक तहमा चरम विभेद भोग्दै आएका छन् । त्यसबारेमा राज्य गम्भीर भएको देखिँदैन,' उनले भने। दलित समुदायका महिलाको आर्थिक, सामाजिक र राजनीतिक समस्याप्रति सरकार र मुख्य राजनीतिक पार्टी नै गम्भीर हुन नसकेको सोवको भनाइ छ।

फेडोकी अध्यक्ष कला स्वर्णकारले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै थप अधिकारका निम्ति दलित समुदायका महिलाले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए। महासचिव रेणु सिजापतिले देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका कारण दलित समुदायले ज्यानसमेत गुमाउनुपरेको अवस्था उल्लेख गर्दै सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन।

अधिकारकर्मी जेवी विश्वकर्माले समावेशीकरणको मुद्दालाई अझै बलियो बनाउन सिमान्तकृत समुदायबीचको एकता र सङ्घर्षको आवश्यकता औँल्याए। ललितपुर महानगरपालिका–१४ की दलित महिला सदस्य सङ्गीता अछामीले दलित महिलाको क्षमता भए पनि स्थानीय तहको निर्वाचनमा वडा सदस्यमै सीमित गरिएको भन्दै गुनासो गरिन।

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्