Kathmandu Press

सूचनाको हक प्रवर्धनका लागि अभियान

काठमाडाैं, असार ५ : सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिकले संगठित भई सामूहिक रुपमा अभियान चलाउन...
सूचनाको हक प्रवर्धनका लागि अभियान

काठमाडाैं, असार ५ : सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिकले संगठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन्। 

सूचनाको हकको सही अभ्यास र प्रयोग गर्न सूचनाको हकका लागि राष्ट्रिय महासंघ विधिवत् स्थापना भई अभियानमा लागेको हो। महासंघले आज राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा सूचनाको हक प्रवर्धन र यसको व्यावहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
 
कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनःनियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उनले सुनाए। 

Hardik ivf

'महालेखापरीक्षकको कार्यालयले स्थानीय तहका बेरुजुका विषयमा वेबसाइटमा प्रतिवेदन राख्न छोडेकामा आयोगकै आदेशमा राख्न थालेको छ, सार्वजनिक निकायले कानुनबमोजिम तोकेका विषय तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्छ,' प्रमुख आयुक्त गुरुङले भने।

सार्वजनिक निकायमा कार्य गर्ने कर्मचारीलाई गोपनीयताको शपथ गराउँदा पनि सूचनाको हक कार्यान्वयनमा समस्या देखिएको आयोगको अनुभव छ। आयोगले सूचना मागकर्ताका लागि सहजीकरण गर्ने गरी पुस्तक प्रकाशन गर्न लागेको जनाएको छ। सार्वजनिक निकायका लाग पनि सहजीकरण पुस्तिका प्रकाशन गर्ने तयारी भइरहेको उनले सुनाए। 
 
सूचनाको हकको अभ्यासमा क्रियाशील नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले लोकतन्त्रलाई बचाउन सूचनाको हक अस्त्र बन्ने बताए। पारदर्शीता र सुशासनका लागि पनि सूचनाको हकले सहयोग गर्ने भएकाले सचेत नागरिकले यसको निरन्तर अभ्यास गरिनुपर्ने उनको भनाइ थियो। उनले सूचनाको हकलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नागरिकस्तरबाट दबाब जरुरी रहेकामा जोड दिए।

महासंघका अध्यक्ष उमीद वाग्चन्दले नागरिक अभियानका रुपमा स्थापना भएको संस्थाले ३५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जानकारी दिए। आगामी भदौसम्म ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरी राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा लागिएको पनि उहाँले बताए। संस्थाले सूचनाको हकको अभ्यासमा लाग्न चाहनेका लागि भौतिक वा अनलाइनका माध्यमबाट तालिम कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ। 

सात सय ५३ वटै स्थानीय तहलाई सूचनाको हकका विषयमा जागरण फैल्याउन बजेटसहितको कार्यक्रम गर्न लगाउने अभियानमा समेत महासंघ लागेको छ। कार्यक्रममा उपभोक्ता महासंघका र महासंघ उपत्यका प्रदेशका संयोजक ताराबहादुर भण्डारीलगायतका वक्ताले सूचनाको हक प्रवर्धनका लागि नागरिक जागरण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्