धान राेप्ने बेला रुकुमको सिस्नेमा गहुँ बाली भित्र्याउन सुरु
रुकुम (पूर्व), असार ५ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका (१ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ। बर्खाको समय सुरु भएका बेला वडा...
रुकुम (पूर्व), असार ५ : यतिखेर धान राप्ने समय हाे तर रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-१ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ। बर्खाको समय सुरु भएका बेला वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने चटारो छ।
बर्खाको बेला गहुँ बाली भित्र्याउन कुरा सुन्दा अनौठो लागे पनि वडावासीले वर्षेनी असारको महिनामा गहुँ भित्र्याउने गरेको वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार जेठको अन्तिम सातादेखि वडाबासीहरु गहुँ काट्ने र ओत लाग्ने ठाउँमा ओसार्ने काममा व्यस्त छन्। मङ्सिरको महिनामा छरेको गहुँ यहाँ सधै असारमा पाक्छ।
वर्षा छिटै सुरु भएको बेलामा यहाँको गहुँ खेतमै कुहिएर काम नलाग्ने हुन्छ भने वर्षा ढिला सुरु भएका बेलामा बाली भित्र्याएर अर्को बाली लगाउन तीन/छ महिना पछि धकेल्ने गरेको वडाध्यक्ष बुढाको भनाइ थियो। यस क्षेत्रमा वर्षभरमा एक बाली मात्र अन्न उत्पादन हुँदै आएको छ।
सिस्ने-१ का खेतबारीमा मकैपछि गहुँ लगाउने अवसर कहिल्यै मिल्दैन। एक बाली पाक्न लगभग ८/९ महिना नै लाग्ने गरेको स्थानीयवासीले बताए। वडाध्यक्ष बुढाकाअनुसार अहिले गहुँ लगाइएको बारीमा सिमी वा तोरी छर्नुपर्छ।
कि त जग्गा बाँझो राख्नुपर्छ। सोही जग्गामा अर्को वर्ष मकै रोप्न सकिन्छ। अहिले मकै रोपेको जग्गामा अर्को वर्षमात्र गहुँ लगाउन सकिन्छ। यस वडामा वैशाखमा रोपेको मकै कात्तिकमा र मङ्सिरमा रोपेको गहुँ असारमा पाक्ने स्थानीयवासी हिउँसरी बुढाले बताए।
सिस्ने -१ चिसो ठाउँ भएकाले पनि अन्य ठाउँको जस्तो एक वर्षमा दुई बाली उत्पादन नहुने गरेको उनको भनाइ थियो।












