Kathmandu Press

ताप्लेजुङमा आठ घर पहिराले बगायो

फुङलिङ, असार ५ : ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै  गएको पहिराले आठवटा घर बगाएको...
ताप्लेजुङमा आठ घर पहिराले बगायो

फुङलिङ, असार ५ : ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै  गएको पहिराले आठवटा घर बगाएको हो।

गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ। ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । 

विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो। त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। 

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको छ । तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ। केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ। 

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ। विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ। 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्