Kathmandu Press

प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकाको थप उपचार विराटनगरमा

खाेटाङ, असार ४ : प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस...
प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकाको थप उपचार विराटनगरमा

खाेटाङ, असार ४ : प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ।

आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो।

Hardik ivf

शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै सुमो गाडी रिजर्भ गरेर विराटनगरतर्फ हिँडाइएको शिक्षिकाका श्रीमान् कृष्ण कार्कीले बताए। शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रअ पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घाइते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल ल्याई पुर्‍याएका थिए।

बैठकमा छलफल हुँदाहुँदै प्रअ पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन। विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको रु १० हजार ८८५, सीप विकासको रु १५ हजार, मसलन्दको रु १५ हजार, अडिटको रु १० हजार, मर्मत कोषको रु नौ हजार, छात्रबृत्तिको रु चार हजार ८००, इन्टरनेटको रु १२ हजार, इन्टरनेट रिजार्चको रु १२ हजार, दिवाखाजाको रु ३४ हजार ५९६ लगायत रु एक लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन।

यसअघि अप्रेशन (शल्यक्रिया) गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा समस्या निम्तिएको हुनसक्ने अनुमान गरिएको छ। पाठेघरसम्बन्धी समस्या रहेकी शिक्षिका कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगरे शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ।

जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घटना भएकाले थप समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन।

घटनाको विषयमा आफूकँहा समेत जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्