Kathmandu Press

कृष्णपुरका २६८ आमालाई बीउबिजन वितरण

कञ्चनपुर, असार ४ : कृष्णपुर नगरपालिका–२ बाणीका सुनौलो हजार दिनका आमालाई आज बीउबिजन वितरण गरिएको छ। नगरपालिकाको कृषि शाखाले वडाका २६८ आमालाई बीउबिजन...
कृष्णपुरका २६८ आमालाई बीउबिजन वितरण

कञ्चनपुर, असार ४ : कृष्णपुर नगरपालिका–२ बाणीका सुनौलो हजार दिनका आमालाई आज बीउबिजन वितरण गरिएको छ। नगरपालिकाको कृषि शाखाले वडाका २६८ आमालाई बीउबिजन वितरण गरेको हो।

आमा र शिशुको पोषणमा सुधार ल्याउनका लागि बीउबिजन वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए। 'सन्तुलित र पौष्टिक आहारको कमीका कारण हुने मातृशिशु मृत्युदर घटाउनका लागि यस कार्यले सघाउ पुर्‍याउँछ,' उनले भने, 'खेतबारीमा पौष्टिकताले भरपूर तरकारी खेती गरी महिला स्वरोजगारसँगै तरकारीको उपभोग गरी स्वस्थ हुन्छन्। आमा स्वस्थ भए शिशुले दूध चुस्न पाउँछन् र स्वस्थ हुन्छन्।'

सुनौलो हजार दिनका आमाहरूलाई बीउबिजन खेतबारीमा रोप्ने, गोडमेल गर्ने, रोग किरा रोकथाम गर्नेलगायत बारे एक दिने तालिमसमेत दिइएको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए।

महिलालाई करेसाबारी तरकारी खेती गरी सहजै उपभोग गर्न पाउन भनेर तालिमसँगै बीउबिजन वितरण गरिएको उनले उल्लेख गरे। बीउबिजन उपलब्ध गराइएका अधिकांश महिला आर्थिकरूपमा कमजोर अवस्थाका छन्। 'शिशुलाई जन्म दिएका अधिकांश ग्रामीण क्षेत्रका महिला आर्थिक विपन्नताका कारण बजार क्षेत्रबाट तरकारी खरिद गरेर खान सक्दैनन्' उनले भने, 'घरमै तरकारी खेती गरेर सहजरूपमा खान पाउन् भनेर यस कार्यमा जोड दिएका छौँ।'

प्रकाशित मिति: २०:१६ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्