बाढीले पुर्याएको क्षतिको विवरण संकलन
कालीकोट, असार ४ : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति,...
कालीकोट, असार ४ : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण संकलन गरिएको छ।
खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण संकलन गरेको वडा ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।
'मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ,' उनले भने, '२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्याउनाका साथै दुई पक्की पुल, ६ वटा बाख्रा र एक भैंसी बगाएको छ।'
प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको धानको बीउ पनि पुरेको उनले जानकारी दिए।
क्षतिको सम्पूर्ण विवरण संकलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा ८ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।












