चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार सहयोग
तनहुँ, असार १ : डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत...
तनहुँ, असार १ : डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत ५० हजार प्रदान गरेको छ ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हालै हस्तान्तरण गरेका हुन्।
बन्दीपुर गाउँपालिका–१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुई मिटर माथि जङ्गलमा लगेको थियो ।
मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्चबापत उक्त रकम प्रदान गरिए पनि बाँकी नौ लाख ५० हजार छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताए।
गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई ५० हजार दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराउन पहल भइरहेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।












