Kathmandu Press

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणका नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडाैं, कात्तिक १९ :  वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन&r....

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणका नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन
फाइल

काठमाडाैं, कात्तिक १९ :  वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ। 

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न-नगराउन सूचित गराएको छ। 

विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ।

पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ। 

विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई छनोट नहुँदासम्म कुनै ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का लगायत प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ। 

वैदेशिक रोजगारीका लागि कामदार पठाउन भन्दै अहिलेसम्म श्रम कार्यालय ताहाचलबाट करिब एक हजार ८०० कामदारको मात्र पूर्वस्वीकृति लिएको विभागले जनाएको छ। विभागबाट पूर्वस्वीकृति नलिई कामदार भर्नासम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन। 

तर पछिल्लो समय पूर्वस्वीकृति नलिई मलेसिया रोजगारीको नाममा झण्डै एक लाखभन्दा बढी कामदारबाट अवैधरूपमा ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ भन्दै रकम असुल भइरहेको पाइएको विभागले जनाएको छ। रासस

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्