संसद् बैठक आधा घन्टाका लागि स्थगित
काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ। नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी...
काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएका थिइन्।
उनले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताएन्।
एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका पनि खुला गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्वपूर्ण भएको बताए।
उनले तत्कालका लागि सुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताए।
सांसद महेश बस्नेत फोहरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको पनि बताए।
सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनुपर्ने कुरा सदनमा पटकपटक उठाउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको स्मरण गरे।












