Kathmandu Press

बगुवा पुनर्वास खानेपानी आयोजना अन्तिम चरणमा

बगुवा पुनर्वास खानेपानी आयोजना अन्तिम चरणमा

गोरखा, जेठ २९ : गोरखाको भीमसेन थापा गाउँपालिका–५, बगुवामा झण्डै एक करोड ६० लाखको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। बगुवाको लामाचौर अमरबस्ती, रिट्टेपानी, भोटेनीलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानीको पुहँच पु¥याउन उक्त आयोजना निर्माण भइरहेको पूर्व वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए। 

विसं २०७४ देखि क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको उक्त आयोजनाबाट डवल लिफ्टिङ गरेर बगुवाको गैराबस्तीमा ७५ घरमिटरको ट्याङ्की निर्माण गरी खानेपानी वितरण गर्न लागिएको उनले बताए। ‘झण्डै डेढकिलोमिटर मुनि देवीढुङगा पाण्डे गाउँमा खानेपानीको मूल छ,’ उनले भने, ‘मुहानमा मात्र ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।’ उक्त आयोजनाअन्तर्गत लामाचौरको एकीकृत मिलनबस्तीमा पनि ५० घनमिटर क्षमताको ट्याङ्की निर्माण गरी मिलनबस्तीका झण्डै २५० घरधुरीलाई खानेपानी वितरण गरिँदै आइएको उपभोक्ता समितिका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए। ‘क्रमागत योजना रहेकाले अघिल्लो वर्ष यही आयोजनाबाट मिलनबस्तीमा ट्याङ्की निर्माण गरी खानेपानी वितरण गरिसकेका छौँ,’ उनले भने, ‘अब गैराबारीमा पनि यहीँ असारभित्र काम सम्पन्न गरी खानेपानी वितरण गरिने योजना छ।’

Hardik ivf

अध्यक्ष श्रेष्ठले गैराबारीमा ७५ घनमिटर ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको बताए । ‘अब घर–घरमा खानेपानी पु¥याउनका लागि मुख्यबस्तीसम्म पाइप पु¥याउने तथा बस्तीदेखि घरघरमा पानीको पाइप जडानको काम बाँकी छ,’ उनले भने, ‘त्यसका लागि पाइप गाड्न डोरेटो बाटो  खन्ने काम भइरहेको छ।’

विद्युत्को अभावमा पानी तान्न समस्या नहोस् भनेर आयोजनमा सोलार र बिजुली दुवै माध्यमबाट पानी तान्न सक्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए। आयोजना निर्माणका लागि कूल बजेटको २० प्रतिशत उपभोक्ताको जनश्रमदान रहने उहाँले जानकारी दिए। उक्त आयोजनाबाट झण्डै ६०० घरपरिवार लाभान्वित हुनेछन्। अहिले त्यस क्षेत्रका बासिन्दाले माछापोखरी धारा, सरस्वती देवीस्थानका धारा तथा चिहान कुवाँबाट पानी बोकेर ल्याएर पिउने गरेको वडाध्यक्ष होमबहादुर बरामुले उल्लेख गरे। स्वच्छ पिउने पानीको अभाव झेलिरहेका बगुवावासीले उक्त आयोजना निर्माण  भएपछि खानेपानीको अभाव झेल्नु नपर्ने अपेक्षा गरेका छन्।  

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्