राजवंशी समुदाय : झापामा दुई प्रमुखसहित ६४ निर्वाचित
काठमाडाैं, जेठ २९ : स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन्। पालिका...
काठमाडाैं, जेठ २९ : स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन्।
पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित भएका छन्। यसअघि विसं २०७४ को निर्वाचनबाट एक अध्यक्षसहित ४८ जना मात्र राजवंशी समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए।
निर्वाचनबाट गौरादह नगरपालिकाको उपप्रमुखमा जलवर्षा राजवंशी, १० जना वडाध्यक्ष तथा ५१ जना सदस्यमा राजवंशी समुदायबाट निर्वाचित भएका छन्। आफ्नो समुदायबाट निर्वाचितलाई राजवंशी विकास प्रतिष्ठानले कचनकवल–३ स्थित राजवंशी समाज विकास समितिमा शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा जिल्लाका राजवंशी जनप्रतिनिधिले आफ्नो जातीय अस्तित्व जोगाउन अब सबैले एक भएर अधिकार खोज्नुपर्ने बेला आइसकेको धारणा राखेका थिए। प्रदेश सांसद पूर्णसिंह राजवंशीले राजनीतिक दलहरुले ‘थापना’का रुपमा मात्र राजवंशी समुदायलाई स्थान दिने गरेको बताउँदै राजनीतिप्रति चासो र चेतना जोगाउनेकार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो।
अघिल्लो निर्वाचनमा भने एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १२ वडाध्यक्षसहित ४८ जना निर्वाचित भएका थिए।












