हिंसा र पृथकतातर्फ लाग्नेलाई नियन्त्रण गर्न सफल : गृहमन्त्री थापा
बुटवल, कात्तिक १९ : हिंसान्तमक गतिविधिमा लाग्ने र देशलाई पृथकतातर्फ धकेल्नेहरुलाई नियन्त्रण गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
....बुटवल, कात्तिक १९ : हिंसान्तमक गतिविधिमा लाग्ने र देशलाई पृथकतातर्फ धकेल्नेहरुलाई नियन्त्रण गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
मंगलबार गृहमन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्ती थापाले भने, ‘हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल छ।’ मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको उनको भनाइ थियो।
गृहमन्त्री थापाले भने, ‘देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ।’ पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै उनले नेपाल प्रहरीको संरचनालाई सङ्घीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानूनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृह कार्य गरिरहेको बताए।
गृहमन्त्री थापाले सरकारले अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको बताउँदै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
सोमबारदेखि सुरू भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी छन्।
यस्तै गाष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ।