कार्यपालिका बैठक डिजिटल बोर्डमा सार्वजनिक
इलाम, जेठ २९ : इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ । प्रविधिमा फड्को मारेको नगरपालिकाले आफ्नो बैठकलाई जनतामाझ पारदर्शी बनाउन...
इलाम, जेठ २९ : इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ । प्रविधिमा फड्को मारेको नगरपालिकाले आफ्नो बैठकलाई जनतामाझ पारदर्शी बनाउन डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो।
जनताले प्रष्ट देख्न पाउने गरी डिस्प्लेमा सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए। उनका अनुसार नगर प्रमुख रणबहादुर राईले आफ्नो पहिलो एजेण्डाका रूपमा नगरका कार्यक्रम पारदर्शी बनाउने जनाउँदै पहिलो निर्णयका रूपमा डिजिटल डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्ने निर्णय गरेका थिए।
नगरप्रमुख राईले डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्य बढी जिम्मेवार हुने बताए। नगरवासीले सूचना पाउने अधिकारको सूनिश्चितता गरेको उनको भनाइ छ। नगरपालिकाका सूचना अधिकृत उज्वल सुवेदीले दुईवटा क्यामेरा नगरसभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेजमार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिए।
यसअघि सो नगरमा स्थानीय तह निर्वाचन २०७९ को मत परिणामसमेत डिस्प्लेमार्फत सार्वजनिक गरिएको थियो । जिल्लाका १० पालिकामध्ये यसरी कार्यपालिका बैठक सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । नगरलाई प्रविधिमैत्री बनाउन नगरका सवारी साधनमा जिपीएस जडान गरिएको छ।
प्रशासकीय अधिकृत भट्टराईका अनुसार अब विभिन्न सिफारिससमेत अनलाइनबाटै लिइने बताइएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले कार्यपालिका सदस्य ख्याम भुजेललाई नगरको प्रवक्ता तोकेको छ । नगर आर्थिक विकास समिति संयोजकमा ९ नं वडाका वडाध्यक्ष देवेन्द्र आचार्य, विपद् व्यवस्थापन समिति संयोजकमा वडा नं १ का वडाध्यक्ष राजकुमार शेरेङ्गलाई तोकिएको छ।












